‘सुटिङमा जाँदा सातु लिएर जान्छु’

१ हप्ता पहिले ४१५१

महादेवको इलाकामा हनुमानको सहारा लिएर सिक्का खोज्न बागमतीमा पस्ने पशुपतिप्रसाद खकुरेल होस् (पशुपतिप्रसाद), वा ‘बाउसापलाई दर्शन अरेस्’ भन्ने टुल्के (टलकजंग भर्सेस टुल्के), अथवा मेयरको गालामा ९ नम्बर चप्पलको ६ नम्बरी डाम बसाउने इन्द्रप्रसाद शर्मा (दिमाग खराब), अभिनेता खगेन्द्र लामिछानेले ठूलो पर्दामा केही यादगार चरित्रमा प्राण भरेका छन् ।

फिल्म निर्माण र पटकथा लेखनमा पनि व्यस्त खगेन्द्र फिल्मको दुनियाँबाट निस्केर कहिलेकाहीं साहित्यतिर विचरण गर्छन् त कहिले कृषितिर पनि नजर लगाउँछन् । साहित्यको बजारमा ‘फूलानी’, ‘पानीफोटो’, ‘खगेन्द्र लामिछानेका नाटक’ जस्ता पुस्तक फलाएका खगेन्द्रले स्याङ्जाको आफ्नो गाउँमा सुन्तला पनि उत्तिकै फलाएका छन् ।

हिजोआज

१. पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

हालै फिल्म ‘मेयर’ को सुटिङ सक्काइयो । सर्लाहीको बागमती नगरपालिकामा झन्डै दुई महिना यसको सुटिङ गरियो । अब नयाँ फिल्म ‘वरिष्ठ बलराम’को तयारीमा जुटेको छु ।

२. हिजोआजको कुन समाचारले वा घटनाले खुशी हुनुभयो ?

खासमा छैन ।

३. अहिले के कुराले दिक्क बनाइरहेको छ ?

एक दिन बिताउनलाई पुस्तकको पात्र छान्नुपर्दा अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द ओल्ड म्यान एन्ड द सी’को पात्र सान्टियागो छान्छु । नेता छान्नुपर्‍यो भने बाराक ओबामा

राजनीतिक घटनाक्रमले दिक्क बनाउँछ । देशमा व्याप्त राजनीतिक अस्थिरताले समाजलाई नै अस्थिर बनाउँदो रहेछ । समाजका हरेक तह र तप्कालाई नजानिंदो तरिकाले असर गर्दोरहेछ । फिल्ममेकरहरूलाई पनि यसले असर गरिरहे जस्तो लाग्छ । केही गरौं भन्ने उत्साही माहोल बन्न सकिरहेको छैन ।

४. अबका योजना के–के छन् ?

फिल्म खेल्ने, बनाउने र एउटा उपन्यास लेख्ने योजना छ । उपन्यासको प्लटहरू रेडी छ । मेरो मूल कर्म लेखन नै हो, यसैले मलाई अझै लेख्नै मन छ । अभिनेताका रूपमा चिनिए पनि मेरो आत्मैदेखि आउने काम लेखन नै हो ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

सबभन्दा महत्वपूर्ण कुरा परिवार नै हो । तपाईंलाई दुःख पर्दा दुई थोपा आँसु झार्ने र सुख पर्दा मिठो मुस्कान दिने परिवारले नै हो । यस्तो साथी कसैका हुनसक्छन्, परिवारचाहिं सबैको हुन्छ । कुनै कारणले दुस्मनी नै भएर छुट्टिएर बसेकै भए पनि परिवारले तपाईंको दुःखमा दुःख मान्छ । तपाईंको दुःखले जसलाई दुख्छ, ऊ नै सबभन्दा महत्वपूर्ण हो ।

६. अचेल तपाईंलाई रोचक लागेको विषय के छ ? के कुरातर्फ रुचि बढिरहेको छ ? कुन कुराको पढाइ वा कुनै व्यक्तिको काम ?

नयाँ चिजमा रुचि जागेको छैन । लेखन, नाटक र सिनेमा बाहेक कृषिमा मेरो रुचि पुरानै हो । यसमै केही नयाँ गर्ने सम्भावना चाहिं छ ।

७. अहिलेको नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

नराम्रो पक्ष भनेको ‘ब्रेन ड्रेन’ । पढेलेखेका मान्छेको विदेश पलायन हो । देख्दा मान्छे विदेश गए भन्ने मात्रै देखिन्छ तर यसले समाजलाई कति असर पारिरहेको छ भन्ने राज्यले हिसाबकिताब लगाउन सकेको छैन । यसको प्रभाव सबभन्दा बढी गाउँमा छ ।

राम्रो कुराचाहिं यति हुँदा पनि नेपालीले आशाचाहिं गुमाएका छैनन् । यस्तो खराब अवस्थामा पनि आशावादी हुनसक्नु राम्रो कुरा हो । हाम्रो देश त्यही आशामा टिकेको छ, चलेको छ । पहिले हामीले देख्ने रमाइला, मानिसले भरिएका बजारहरू सब सुकिरहेका छन् । स्याङ्जामा हाम्रो गाउँ नजिकको बगालथोक बजार साह्रै गुल्जार थियो । मानिसहरू सामान किनिरहेका, पसलहरू ग्राहकले भरिएका, केटाकेटी यताउता दौडिइरहेका देखिन्थे । यसपालि जाँदा सुनसान, लहरै बन्द सटर देख्दा मलाई दुःख लाग्यो ।

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? आजको पत्रकारिता तपाईंलाई कस्तो लागिरहेको छ ?

पत्रपत्रिका म हेर्छु । तर, पहिला जस्तो हेर्दिनँ । वाक्क भएर पनि होला । सबैलाई भनेको होइन तर हाम्रो पत्रकारिताले नैतिकता र विवेक अलिअलि गर्दै गुमाउँदै गए जस्तो लाग्दैछ । देशबाट मान्छे पलायन भए जसरी नै पत्रकारिता र अरू क्षेत्रबाट पनि नैतिकता र विवेक पलायन भइरहेको देख्छु । यो पत्रकारिता मात्र होइन, अन्य क्षेत्रमा पनि छ ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

‘टलकजंग भर्सेज टुल्के’ फिल्म फेरि बनाउँथें । यसका निर्देशक निश्चल बस्नेतलाई मैले फेरि बनाउँ भनेर भनेको पनि थिएँ । सिक्वेल होइन, रिमेक । पहिले एउटा जोशमा बनाइयो, दर्शकहरूले मन पराइदिनुभयो, धेरैले यसलाई साह्रै प्यारो पनि मान्नुभयो । यो राम्रो फिल्म नै मानिन्छ तैपनि मलाई अझै धेरै राम्रो फिल्म बनाउन सकिन्थ्यो भन्ने लाग्छ ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

मान्छेलाई विवेकी बनाउनलाई केही गर्नुपर्छ कि ! अहिले मान्छे धेरै अविवेकी देख्छु । यसको प्रभाव समाजमा धेरै छ । आगामी पुस्तालाई विवेकी बन्ने स्कुलिङ दियो भने हामीभन्दा गतिला हुनेथिए भन्ने लाग्छ । मान्छेले सीप आफैं सिक्न सक्छ तर विवेकचाहिं सिकाउनै पर्छ । त्यो हुर्काइ, बढाइसँगै आउने कुरा हो ।

किताब

१. पढ्ने बानी कसरी बस्यो ?

पहिलोचोटि फिल्म हेर्न स्याङ्जा बजारको हलमा जाँदा टिक ब्ल्याक गर्ने बजारका टोले दादाहरू बेल्ट घुमाउँदै आए । तीमध्ये एउटाको बेल्टले मेरो काँधमा बेस्सरी लाग्यो । यति साह्रै दुख्यो कि म त्यो दिन फिल्म नहेरीकन फर्किएँ

म स्कुल पढ्दा हाम्रो गाउँमा युवा पुस्तकालय नामको ठूलो पुस्तकालय थियो । सिनियर दाइहरू, जागिरेहरू छुट्टीको दिन पुस्तकालय बाहिर बसेर रिडिङ सेसन चलाउनुहुन्थ्यो । हामी सानाले सुन्थ्यौं । यसले किताबप्रति चासो बढायो र पढ्ने भइयो । त्यो पुस्तकालय अहिले छैन । मलाई फेरि बनाउने रहर छ ।

२. पढ्न मनपर्ने विधा ?

गैरआख्यान । खासगरी मान्छेलाई जगाउने, प्रेरणादायी पुस्तकहरू मनपर्छ ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

धच गोतामेको ‘सम्झनाका गल्छेडाहरू’ । मैले यो पुस्तक शिवानीसिंह थारूको सिफारिशमा पढेको हुँ । त्यसमा वर्णित साथीहरूको सम्झना भएको ‘विषवृक्षमुनि’ नामक स्मरणले मलाई साह्रै प्रभाव पार्‍यो । मान्छेको जीवनका दुःख, कटुता, मित्रताबारे यसमा मसिनो गरी केलाइएको थियो । यो पढ्दाखेरि मलाई ध्यान गरेर निस्किए जस्तो भएको थियो । अब ६ महिना त केही पढ्न पर्दैन जस्तो लागेको थियो । यसमा कतिपय वियोगान्त संस्मरण छन्, तैपनि तिनले धेरै कुरा सिकाउँछन् ।

४. निकै चर्चा भए पनि तपाईंलाई निराश बनाएको पुस्तक ?

नभनौं यस्तो त । धेरै छन् । मान्छेलाई किन बेकारमा दुःखी बनाउनु ?

५. पुस्तकहरू ज्ञानको प्रसारका लागि लेखिन्छन् कि ज्ञानमाथि नियन्त्रणका लागि ?

लेखिनुपर्नेचाहिं प्रसारका लागि हो । हाम्रो समाज, हाम्रो लेखन त्यस्तो नियन्त्रणमुखी पनि छैन । राजनीतिक परिस्थिति फरक भएका देशमा, अधिनायकवादी शासन भएका ठाउँमा भन्दा हाम्रोमा अलि खुलै छ ।

६. नेपालमा के कस्तो विषयमा पुस्तक लेखिनुपर्छ ?

मान्छेले इतिहास किन पढ्ने भन्छन् । मलाईचाहिं इतिहास नै लेखिनु र पढिनुपर्छ जस्तो लाग्छ । मान्छेले आफ्नो देश, समाज र पुर्खाहरू कसरी यहाँसम्म आइपुगे भन्ने थाहा पाउँदा आफ्नो जरा थाहा पाउँछ । तर, हाम्रोमा इतिहास धेरै अपहेलित भयो । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी नभएर इतिहास विभाग नै बन्द हुने अवस्थामा पुगेको समाचार पढ्दा मलाई दुःख लाग्यो । इतिहास भनेको हाम्रो समयको अभिलेखीकरण गर्ने कुरा हो । यसमा रुचि हुनेलाई राज्यले लगानी गरेर पढाउनुपर्ने हो । यसको महत्व धेरै छ । तर, यसमा समाज र राज्यले यसलाई नजरअन्दाज गरिरहेको छ । नेपालीको बानी नै विगत छिटो बिर्सने छ । हामीले हिजोको गणतन्त्रको आन्दोलन त बिर्सिए जस्तो लाग्न थालिसक्यो । राम्रो अध्ययन र अभिलेखीकरण नभएर पनि यस्तो भएको हो कि जस्तो लाग्छ ।

७. तपाईंका प्रिय लेखकहरू ?

मलाई भारतीय लेखक निर्मल बर्माका कथा पढ्न मज्जा लाग्छ । प्रेमचन्द पनि मेरा प्रिय लेखक हुन् । उनका कफन, गोदान मलाई मन परेका हुन् । नेपालीमा मलाई बीपी कोइरालाका कथा र संस्मरण मन परेको हो । समकालीनमा मलाई बुद्धिसागरको लेखन मन पर्छ ।

८. कलाकार बन्न चाहनेले पढ्नुपर्ने पुस्तक ?

कलाकारले सबैखाले विषय पढेको राम्रो ।

९. एक दिन बिताउन पाए कुन लेखक वा किताबको पात्रसँग बिताउनुहुन्थ्यो ?

अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द ओल्ड म्यान एन्ड द सी’को पात्र सान्टियागो ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

५–६ कक्षामा पढ्दा होला, ‘कन्यादान’ हेर्न स्कुलबाट भागेर सदरमुकाम स्याङ्जा बजार पुगिएको थियो । त्यतिबेला टिकट काट्न साह्रै कठिन हुन्थ्यो । म सानो मान्छे, भित्रभित्र छिरेर टिकट काट्ने प्वालसम्म पुगेको थिएँ । टिक ब्ल्याक गर्ने बजारका टोले दादाहरू बेल्ट घुमाउँदै आए । तीमध्ये एउटाको बेल्टले मेरो काँधमा बेस्सरी लाग्यो । यति साह्रो दुख्यो कि म त्यो दिन फिल्म नहेरीकन फर्किएँ । पछि भीडभाड होलो भएपछि फेरि गएर हेरें । यो कुरा मैले पछि गौरी मल्ललाई पनि सुनाएँ ।

लोकल र अर्गानिक खान मन पराउँछु । सुटिङमा जाँदा पनि म सातु लिएर गइरहेको हुन्छु । यसपालि ‘मेयर’को सुटिङमा प्रकाश घिमिरे दाइ र मैले (कहिलेकाहीं वर्षा राउत पनि) मजाले सातु खायौं

२. आजकल कस्ता फिल्म हेर्न मन पर्छ ?

सोसल ड्रामा, इमोसनल स्टोरी मन पर्छ ।

३. साह्रै मन परेका फिल्म ?

‘द ब्वाई इन स्ट्रिप पाइजामा’ । यो फिल्मको क्लाइमेक्समा त म डाँको नै छोडेर रोएको थिएँ ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

‘पशुपतिप्रसाद–२ः भष्मे डन’ !

५. फिल्म हेर्दाको कुनै विशेष स्मृति ?

मेरो श्रीमती रोजिना र म प्रेमी–प्रेमिका हुँदाखेरि हामी फिल्म हेर्न गइएको थियो । माधुरी दीक्षितको फिल्म ‘आजा नचले’ । सायद जयनेपालमा हो । फिल्म गुरु–चेलीको सम्बन्धमाथि बनेको परेछ । गुरुले चप्पल हान्ने दृश्यले मलाई एकदमै छोयो । त्यसले मलाई एकदमै इमोसनल बनायो । इमोसनल सिनमामा मेरो आँसुको खोला बगिहाल्छ । हाम्रो भक्खर प्रेम सम्बन्ध सुरु भएको थियो । रोजिनाले मलाई जिस्क्याएर हाँसिन् । मलाई लाज पनि लाग्यो । तर, आँसु लुकाउन सकिनँ ।

६. मन पर्ने कलाकार वा फिल्ममेकर ?

इटलीको नियोरियालिस्ट फिल्ममेकर भेत्तिरियो डेसिका । मलाई उनको फिल्म ‘बाइसाइकल थिफ्स’ साह्रै मन परेको । हलिउडमा मलाई स्टिवन स्पिलवर्ग मन पर्छ । इन्डियामा अनुराग कश्यप । उनको ‘ग्याङ्स अफ वासेपुर’ साँच्चिकै गजब लागेको फिल्म हो । त्यसका दुइटै भाग मैले तीन–चार पटक हेरेको छु ।

७. नेपालमा कस्ता फिल्म बनुन् जस्तो लाग्छ ?

अहिलेको समय सन्दर्भमा हेर्दा हाम्रोमा एक किसिमका ‘इन्टरटेनिङ’ फिल्म चलेका र बनेका छन् । संसारभरि ठूलो दर्शकले यस्तै फिल्म हेर्न मन पराउँछ । हामीले मनोरञ्जनका साथै समाजलाई प्रश्न गर्ने, नयाँ कुरा सोच्न बाध्य बनाउनेखाले फिल्म बनाउनुपर्छ जस्तो लाग्छ । उदाहरणका लागि इन्डियाका ‘थ्री इडियट्स’ वा ‘तारे जमिनपर’ लाई लिन सकिन्छ । मान्छेलाई भयंकर शिक्षा दिन्छु वा विशाल कलात्मक प्रयोग गर्छु भनेर फिल्म बनाएर बाँच्न गाह्रो छ, त्यो मलाई पनि थाहा छ । व्यक्तिगत लगानीमा त्यो सम्भव पनि छैन । त्यसैले हाम्रा मनोरञ्जक फिल्ममै दर्शकलाई थोरै केही सोच्न बाध्य बनाउने कुरा पनि हुनुपर्छ जस्तो लाग्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

यी दुइटै ठीक हुन् । व्यक्तिगत रूपमा म यथार्थसँग साक्षात्कार गराउने फिल्म मन पराउँछु । तर, रमाइलो गर्न आउने मान्छेलाई अर्कै संसारमा पुर्‍याएर अर्कै आनन्दानुभूति गराउनु पनि ठूलो कुरा हो । यी दुवै गर्दा गलत हुँदैन । अर्कै संसारमा पुर्‍याएर पनि केही भन्न सकिन्छ ।

खाना

१. नियमित खानाको रुटिन कस्तो छ ? खानाको कत्तिको सोखिन हुनुहुन्छ ?

म खानाको खासै सोखिन होइन । लोकल र अर्गानिक खान मन पराउँछु । सुटिङमा जाँदा पनि म सातु लिएर गइरहेको हुन्छु । यसपालि ‘मेयर’को सुटिङमा प्रकाश घिमिरे दाइ र मैले (कहिलेकाहीं वर्षा राउत पनि) मजाले सातु खायौं । घरमा हुँदाचाहिं म ब्रेकफास्ट खान्न, एकैचोटि लञ्च खाने हो ।

२. सबभन्दा मनपर्ने खाना ?

फर्सीको तरकारी, दूध र भात । अनि आफूले पकाएको माछा र भात ।

३. खाएको सबभन्दा मिठो परिकार ?

त्यस्तो सम्झनामा त केही छैन । पहिलेपहिले बिहे जन्ती जाँदा भोलिपल्ट खेतमा खाने जन्ते बाख्रोको झोलवाला मासु–भात चाहिं मिस हुन्छ ।

४. खाएको सबभन्दा नमिठो परिकार ?

एकचोटि आफैं बनाएको थिएँ । घ्युमा फ्राई गरेर सुजी पकाएको थिएँ । हरेकपटक पकाउँदा म नयाँ–नयाँ कुरा राखेर प्रयोग गर्छु । एकफेर सुजीको हलुवा बनाउँदा मालभोग केरा ग्राइन्ड गरेर मिसाएको यति रद्दी भयो । बर्बादै भयो ।

५. संसारमा लडाईं खानाका लागि छ कि ? लड्नका लागि खाना जम्मा गर्नलाई छ ?

खानैका लागि छ होला । हामी दैनिक लडाईं नै खानका लागि गरिरहेका छौं । मैले फिल्म खेल्ने, तपाईंले पत्रकारिता गर्नु पनि खानैका लागि त हो नि ! म फेरि भोक लागेपछि कामै गर्न सक्दिनँ ।

६. तपाईंलाई मिठो पकाउन आउने परिकार ?

माछा ।

७. भान्साबाट कुनै समाजबारे कत्तिको थाहा पाउन सकिन्छ ?

मज्जाले थाहा पाउन सकिन्छ ।

राजनीति

१. नेपालको अहिलेको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

अग्रगामी हुने उद्देश्यले लडाईं गरेको तर पश्चगामी भइरहेको ।

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

विवेक, इमानदारी र नैतिकताको अभाव । नेता इमानदार नभइकन राजनीतिले सही दिशा पक्रिन सक्दैन ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

जो बेइमान छन्, तिनलाई इमानदार बनाइदिन्थें ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ? सबभन्दा कमसल लागेका नेता ?

बीपी कोइराला र मदन भण्डारी । कमसल त यति धेरै छन् कि नाम लिएर साध्य हुँदैन ।

५.मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

दुई अर्थ लाग्ने कानुनहरू सुधारको पहल गर्ने थिएँ । हाम्रा कानुनहरू यति धेरै बग्याएर लेखिएका छन्, तिनलाई आम मान्छेले बुझ्नसक्ने बनाउन पहल गर्ने थिएँ । कानुनका छिद्रहरू टाल्ने थिएँ ।

६.एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

बाराक ओबामा ।

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

त्यस्तो धेरै चलाउँदिनँ । फेसबुकहरू खासै हेर्दिनँ, आक्कलझुक्कल हो । इन्स्टाग्राम अलिअलि चलाउँछु ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

बिहान उठ्नासाथ त हेर्ने बानी छैन । राति पनि बेडमा बसेर सधैं चलाउँदिनँ । कहिलेकाहीं चलाइन्छ ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

यसले हाम्रो समाजलाई धेरै फाइदा पुर्‍याएको छैन । यसको दुरुपयोग नै बढी भएको छ ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना फैलाउने र मान्छेलाई भुलाउने काम बढी गरिरहेको छ ?

गलत सूचना फैलाउने र भ्रम फैलाउने काम नै धेरै गरेको छ ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

अहिलेको समयमा अलिकति हो कि जस्तो लाग्छ । तर, पछि मान्छे किताबकै पानामा फर्किनेछन् भन्ने लाग्छ । एक समयमा पुगेपछि मान्छेलाई सामाजिक सञ्जाल वाक्क लाग्छ होला ।

पेशा/व्यवसाय

१. कलाकार हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

कलाकार हुनुको राम्रो कुरा– कलाकारका रूपमा मैले विभिन्न खालका जीवन बाँच्न पाउँछु । नमज्जाको कुराचाहिं व्यक्तिगत जीवन चिलिम हुन्छ । यो धेरै ठूलो समस्या त होइन तर जतिखेर पनि चनाखो भइरहनुपर्ने चाहिं अलि बेठिकै हो ।

२. कुन समयमा तपाईंलाई कलाकार बन्नुपर्छ भन्ने लाग्यो ?

२०५६ सालमा पोखरामा पहिलो नाटक ‘गोलार्धको कालो आकाश’ नाटक खेलेपछि । सरुभक्त दाइले लेख्नुभएको यो नाटकको निर्देशन श्याम अर्यालले गर्नुभएको थियो ।

३. कलाकार नबनेको भए के बन्नुहुन्थ्यो होला ?

म पक्कै पनि कृषक बन्ने थिएँ । लेखक त म छँदैछु, कृषक पनि म राम्रै बन्ने थिएँ ।

४. तपाईंको जीवनको कोही रोलमोडल छ ?

मेरो बा ।

पुरा समाचार पढ्नुहोस्