छैटौं सातामा ‘महजात्रा’

१ हप्ता पहिले १२

काठमाडौं । ‘जात्रा’ र ‘जात्रैजात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो शृंखला फिल्म ‘महाजात्रा’ प्रदर्शनको छैटौं सातामा प्रवेश गरेको छ । फिल्म ५१ औं दिनको यात्रामा अघि बढेको छ । अहिले पनि उल्लेख्य शो यसको सकारात्मक पक्ष हो ।

निर्माता म्याक्स दीपेश खत्रीले पाँचौं सप्ताहन्तमा पनि फिल्मको अकुपेन्सी र शो संख्याले आफूहरु उत्साहित रहेको बताए । प्रदीप भट्टराई निर्देशित यो फिल्म मुख्य मल्टिप्लेक्समा अहिले पनि चलिरहेको छ ।

‘हाम्रो फिल्मले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । म लगायत मेरो टिमलाई प्राप्त भइरहेको सन्देशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिटै जुट्ने छौं,’ निर्देशक भट्टराईले भने ।

क्यूएफएक्सका भक्तपुर भाटभटेनीमा ४, लबिम मलमा २, सिभिलमा ३, छाया सेन्टर र राइजिङ मलमा १–१ शो छ ।  नेपालगन्ज, बुटवल, दमौली, नारायणगढ र इटहरीमा १–१ शोसहित फिल्म चलिरहेको छ ।

क्यूएफएक्स बाहेक काठमाडौं उपत्यकाका हलहरुमा पनि फिल्मको शो अद्यावधिक छ । फिल्मको अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्टका अनुसार अष्ट्रेलियाको सिड्नीमा मात्र फिल्मले ३५ शो सम्पन्न गरिसकेको छ । अष्ट्रेलियामा यो शो संख्या नेपाली फिल्मको लागि उच्च रहेको वितरकको दाबी छ ।

फिल्ममा विपिन कार्की, रवीन्द्र झा, रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउत, दिव्यदेव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । षट्कोण आर्ट्सले २०८२ सालको दशैंमा नयाँ फिल्म दर्शकमाझ ल्याउने घोषणा गरेको छ ।

पुरा समाचार पढ्नुहोस्