बास्केटबलकी मिहिनेती गरिसा

२ हप्ता पहिले १३

१० वैशाख, काठमाडौं । गरिसा सिलवाल नेपाली राष्ट्रिय बास्केटबल टिमकी सदस्य हुन् । २३ वर्षीय गरिसाले नेपालका लागि फुल कोर्ट र थ्री एक्स थ्री दुवै विधामा प्रतिनिधित्व गरिसकेकी छन् ।

उनले सन् २०१९ मा घरेलु मैदानमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि थ्री एक्स थ्री मा डेब्यु गर्दै कांस्य पदक जितेकी थिइन् ।

यस्तै सन् २०२२ मा माल्दिभ्समा भएको साबा च्याम्पियनसिपमार्फत फुल कोर्टमा डेब्यु गरेकी गरिसाले असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा थ्री एक्स थ्री तर्फ सहभागिता जनाएकी थिइन् ।

गत  नेपाल बास्केट संघले आयोजना गरेको खुल्ला थ्री एक्स थ्री बास्केटबल प्रतियोगिता गरिसा सहभागी टिम ललितपुर ए च्याम्पियन बनेको थियो । त्यसमा उनै गरिसाले मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) को अवार्ड जितिन् ।

कुनै बेला निकै चर्चामा रहने बास्केटबल गतिविधि केही समय कतै हराएकोजस्तो बनेको थियो । तर पछिल्लो समय बास्केटबल गतिविधि विस्तारै फेरि बढ्न थालेका छन् । जसले गर्दा गरिसाजस्ता खेलाडीका लागि प्रदर्शन देखाउने र नयाँ खेलाडीका लागि पनि आफ्नो क्षमतालाई बाहिर ल्याउने अवसर बनेको छ ।

‘धेरै पछि थ्री एक्स थ्री गेम भयो । खेल हुँदा नै हामी खुशी थियौँ । अब उपाधि जित्दा झन् खुशी छौँ’, गरिसाले अनलाइनखबरसँग भनिन्, ‘किनभने भारतका खेलाडी पनि आथे । भारतको कप्तानसहित दुई विदेशी खेलाडी थिए । उनीहरुलाई समेत हरायौँ ।’

यस प्रतियोगिताबाट खेलाडीहरुले खेलको अनुभव लिन पाएको उनले बताइन् । यसअघि उनले पछिल्लो पटक ब्रोकेड कप थ्री एक्स थ्री खेलेकी थिइन् । यस्तै नखिपोटमा भएको यू-२३ बास्केटबल रोयल स्पोर्ट्सबाट खेल्दै जितेकी थिइन् भने रोयलबाटै फुल कोर्टको मदन भण्डारी कप खेलेकी थिइन् ।

यस पटक च्याम्पियन ललितपुरको टिममा गरिसासँगै मिना गुरुङ रोशनी श्रेष्ठ र युनिसा लामा थिए । गरिसाले मिनाले १९औं एसियाडमा नेपालका लागि सँगै खेलेका थिए । यस्तै घरेलु बास्केटबलमा यी दुई र रोशनीले सँगै खेल्दै आएका छन् । सँगै प्रशिक्षण गरेको र सँगै खेल्दै आएकोले पनि सजिलो भएको गरिसाको बुझाइ छ ।

गरिसाले र मिनाले जेभिएर इन्टरनेशलनमा प्लस टु पढ्दादेखि सँगै खेल्न थालेका हुन् भने रोयल स्पोर्ट्स सेन्ट्रलबाट खेल्न थालेपछि रोशनी पनि जोडिइन् । त्यसले गर्दा ३ जनाको अन्डरस्ट्यान्डिङ पनि राम्रो छ । ‘हामी तीन जनाले सँगै खेलेको धेरै भइसक्यो । त्यसले पनि सजिलो भयो । अर्को भनेको टिम वर्क हो । सबैले टिम गेम खेल्दा सजिलो भयो’, च्याम्पियन बन्दाको अनुभव गरिसाले सुनाइन् ।

यस्तै एमभीपी अवार्ड जित्दा खुशी भएपनि यसमा सबैको मिहिनेत जोडिएको गरिसाले बताइन् । ‘सबैको हार्ड वर्कले हामी सफल भयौँ । मैले जित्दा अरुको पनि सहयोग छ । कहिले मैले राम्रो गर्छु कहिले अरुले राम्रो खेल्छन्’, उनले भनिन् ।

५ फिट १० इन्च अग्ली गरिसालाई उचाईको पनि राम्रो साथ छ । उनली फुल कोर्टमा सेन्टर पोजिसनमा खेल्छिन् । जसलाई ‘बिग म्यान’ पनि भनिन्छ । यसलाई फाइभ रवा पिभोट पनि भनिन्छ । प्राय: टिमको सबैभन्दा अग्लो खेलाडी सेन्टरमा खेल्छन् ।

सेन्टर खेलाडीको काम पोसेसन बनाउने स्कोरिङका लागि अवसर क्रिएट गर्ने विपक्षीलाई स्कोर गर्नबाट रोक्ने लगायत हुन्छ । अग्लो हुँदा रिबाउन्डमा आएको बललाई खोसेर स्कोर गर्नको लागि पनि फाइदा हुन्छ ।

किम कम छन् महिला टिम?

पछिल्लो समय स्कुल कलेजमा बास्केटबल गतविधि भइरहेका छन् । राष्ट्रियस्तरमा समेत केही प्रतियोगिताहरु भए । तर, महिलाको टिम पुरुषको तुलनामा धेरै कम छन् ।

थ्री एक्स थ्री ओपन बास्केटबलमा पुरुष ३२ टिम हुँदा महिलाको जम्मा ८ टिम मात्र थिए । नेबाले आयोजना गरेको प्रतियोगता भएपनि केही खेलाडी यसमा सहभागी थिएनन् । उनीहरुको व्यक्तिगत कारण पनि हुन सक्छ ।

तर बास्केटबलको नियमित क्यालेन्डर नभएकोले पनि महिला टिम कम भएको हुन सक्ने गरिसाले बताइन् ।

‘निरन्तर खेल भयो भने खेल्छन् । नत्र आउने जाने हुन्छ । एउटै टिमबाट निरन्तर खेल्न नपाएर पनि होला । कन्टिन्यु हुनु महत्वपूर्ण कुरा हो’, गरिसाले भनिन्, ‘केटाहरुको लिग भयो अब केटीहरुको पनि लिग हुन पर्‍यो । हामी खेलाडी खेल्न पायौँ भने नै खुशी हुने हो ।’

भिम सिंह गुरुङको नेतृत्वमा रहेको वर्तमान नेबाले राम्रो काम गरिरहेको र अब महिला बास्केटबल प्रतियोगिता पनि बढ्ने र टिम पनि बढ्ने गरिसाको विश्वास छ ।

यसरी सुरु भयो गरिसाको करियर

झापा सुरुंगाकी गरिसा सानो हुँदै परिवारसँग काठमाडौंमै बस्न थालेकी हुन् । उनले यतै अध्ययन गरिन् । कक्षा १० मा हुँदा उनले बास्केटबल खेल्न थालेकी हुन् । त्यसपछि उनले ब्याचलर पढ्दासम्म बास्केटबललाई निरन्तरता दिइन् ।

भन्छिन्, ‘मैले कक्षा १० मा हुँदा बास्केटबल खेल्न थालेको थियो । त्यसपछि नै निरन्तर खेल्न थालेकी हुँ ।’

त्यसबेला उनलाई नितिशराज पाठकले उनको अग्लो उचाइ देखेर बास्केटबल खेल्न प्रेरित गरेका थिए । ‘मलाई पनि खेल्दा मन पर्‍यो । अनि नितिश दाइले पनि ट्यालेन्ट छौ, खेल भन्नुभयो’, उनले सम्झिइन् ।

त्यसपछि उनी नेबाको ट्यालेन्ट हन्टमा गइन् । जहाँ आशिष केसीले प्रशिक्षण दिएका थिए ।

जेभिएरमा प्लस टु पढ्न थालेपछि उनले त्यहाँ पनि बास्केटबल खेलिन् । गरिसाले कलेजको टिम बाहेक रोयल स्पोर्ट्स सेन्ट्रल त्रिभुवन आर्मी क्लब र ललितपुरको टिमबाट खेलेकी छन् ।

२०७५-७६ मा दाङमा भएको आठौं राष्ट्रिय खेलकुदमा खेलेपछि उनको करियरले गति लिएको थियो । ‘रोयलमा हामीलाई नृपेश दाइले सिकाउनुहुन्थयो । उहाँले नै आर्मीबाट आठौं राष्ट्रिय खेल्न बोलाउनुभयो । त्यसमा हामी तेस्रो भयौ’, उनले भनिन् ।

त्यसपछि नै गरिसाले राष्ट्रिय टिसमम्को यात्रा तय गरिन् ।

सन् २०१९ मा घरेलु भूमिका भएको १३औं सागमा उनले थ्री एक्स थ्री मार्फत नेपालको लागि डेब्यु गरिन् । ‘राष्ट्रिय टिममा पुगेपछि अझ राम्रोसँग बास्केटबल सिक्ने अवसर मिल्यो । नेसनल टिमबाट खेलेको अनुभव थिएन । पहिलो पटक खेल्दै थियौँ’, उनले भनिन्, ‘तर त्यो बेला खेलेको अनुभव अहिलेसम्म काम लागिराछ ।’

त्यसपछि उनले सन् २०२२ मा माल्दिभ्समा भएको साबा च्याम्पियनसिपमा फुल कोर्टतर्फ भुटान विरुद्ध डेब्यु गरिन् । जहाँ नेपालले दोस्रो हुँदै रजत जितेको थियो ।

गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रियमा उनले आर्मीबाट खेल्दै स्वर्ण जितेकी थिइन् । राष्ट्रिय टिमबाट फुलकोर्ट र थ्री एक्स थ्री दुवै खेलेकी गरिसालाई दुवै विधा रमाइलो लाग्छ ।

खेल र पढाइ सँगैसँगै

धेरै खेलाडीका लागि पढाइ र करियरलाई सँगै अघि बढाउन गाह्रो छ । तर गरिसाले भने दुवै पक्षलाई मिलाएर अघि बढाएकी छन् ।

साइन्स र आर्किटेक्टचर पढ्दा समेत उनले खेल छाडिनन् । त्यसैले अब पनि दुवैलाई सँगै अघि बढाउने उनको लक्ष्य छ । त्यसमा परिवारको पनि उनलाई राम्रो साथ छ । ‘पहिला पढ्दै कसरी खेल्ने भन्नुहुन्थ्यो । तर पछि सहयोग गर्नुभयो । कलेजले पनि सहयोग गरेको छ’, उनले भनिन् ।

१९औं एसियाडका बेला उनले पढाइ, ट्रेनिङ, कलेजको असाइनमेन्ट सबै काम एकै पटक गर्नुपर्दा पनि राम्रोसँग व्यवस्थापन गरेकी थिइन् ।

सुरुमा खेल्दा उनको परिवारको मनमा पनि के होला कस्तो होला भन्ने थियो । तर, गरिसाले दुवै क्षेत्रमा आफूलाई अब्बल सावित गरिन् ।

‘मैले पढाइ राम्रो भएन भने खेल्न छाड्छु सोचेको थिएँ । तर पढाइ पनि राम्रो हुँदै गयो । बास्केटबल पनि खेल्दै गएँ । अब त झन् दुवैलाई सँगै अघि बढाउने हो’, गरिसाले भनिन्, ‘अहिलेसम्म त गरेँ । कति कठिन समय पनि थियो । त्यसमा त म्यानेज गर्न सकेँ । अब त झन् खेल्छु भर्खर र सुरुआत भएको छ । नेपालको लागि अझै धेरै खेल्ने ट्रफीहरु जिताउने लक्ष्य छ ।’

मुख्य कुरा समयम व्यवस्थान गर्नु रहेको उनले बताइन् । ‘समय व्यवसथ्पन मुख्य कुरा हो । त्यसलाई कसरी व्यवस्थापन गरेर लैजाने भन्ने हो । मेरो लागि पनि धेरै कठिन थियो । तर मैले खेल र पढाई दुवैलाई व्यवस्थित तरिकाले अघि बढाएँ’, उनी भन्छिन् ।

गरिसा हाल हिमालयन इन्जिनियङ कलेजमा ब्याचलर अफ आर्किटेक्टचर अन्तिम (पाँचौ) वर्षमा अध्ययनरत छिन् । उनले पढाइलाई पनि खेलकुदसँग नै जोडेकी छन् ।

कलेजको असाइनमेन्टका लागि उनले स्पोर्ट्स कम्प्लेक्सकै बारेमा थेसिस रिपोर्ट बनाउँदैछन् । ‘नेपालमा खेलकुद संरचना पुरानै छ । सधैँ एउटै हलमा खेल्नुपरेको छ । धेरै खेल र प्रशिक्षण एकै स्थानमा हुन्छ । त्यसलाई नयाँ ढंगले बनाउनेपुर्ने बेला आइसकेको छ’, गरिसाले आफ्नो योजना सुनाइन् ।

उनले झापाको सुरुंगामै एउटा स्पोर्ट्स कम्प्लेक्सको डिजाइन गर्दैछिन् ।

एसियाडको सिकाइ

हान्झाउमा १९औं एसियाडमा प्रतिस्पर्धा गर्दै गर्दा गरिसाको लागि त्यो खेल मात्र नभएर धेरै कुरा सिक्ने अवसर समेत थियो ।

आफैं आर्किटेक्चरको विद्यार्थी भएकोले पनि उनलाई त्यहाँको त्यो खेलकुदको संरचनाले निकै प्रभावित गर्‍यो । ‘पहिलो पटक एसियाड खेल्दा मैले धेरै खेलमा मात्र नभएर धेरै कुरा सिक्ने अवसर पाएँ’, गरिसाले भनिन्, ‘एसियाडको अनुभव धेरै राम्रो भयो ।’

उनले यो जीवनमा एक पटक आउने अवसर जस्तो भएको बताइन् । ‘हाम्रो लागि ठूलो अवसर थियो एसियाड । वान्स इन अ लाइफ टाइमजस्तो हो । अब अर्को पटक होला नहोला अवसर थाहा छैन’, उनले भनिन् ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडबाट नेपालको महिला टोलीले एसियाडमा फुल कबर्टमा डेब्यु गरेको थियो । तर २०१८ मा भने नेपालको महिला र पुरुष दुवै टिमले थ्री एक्स थ्री मा मात्र सहभागिता जनाएको थियो ।

उनले चीनमा खेल्न पाउनु आफ्नो लागि लक्की भएको बताइन् । ‘म एसियाड खेल्न पाउँदा लक्की पनि भएँ । चीनमा गएर खेलेँ । धेरै कुरा हेर्न पाएँ । त्यो अनुसार अब तयारी गर्न पाउँछु,’ गरिसाले भनिन्, ‘चीनले राम्रोसँग पूर्वाधारको व्यस्थापन गरेको थियो । उनीहरुको कस्ट हाई पनि थिएन तर व्यवस्थित तरिकाले बनाइएको थियो ।’

उनले बास्केटबल आफ्नो रोजाइ भएकोले शरीरले साथ दिँदासम्म खेल्ने बताइन् । भनिन्, ‘मेरो लक्ष्य यही भन्दा पनि ‘गोइङ विथ फ्लो’ हो । खेल्ने पढ्ने मेरो रोजाइ हो । म वर्तमानमा जिउँछु ।’

पुरा समाचार पढ्नुहोस्