राष्ट्रपति रनिङ शिल्डको दुई संस्करणमा स्वर्ण, एसियन गेम्स खेल्ने लक्ष्य

२ हप्ता पहिले १४

९ वैशाख, काठमाडौं । सुर्खेतका १७ वर्षीय अजय विकले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर दौडमा स्वर्ण जिते । उनले उक्त दूरी ९ मिनेट २४.२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

एउटै इभेन्टमा लगातार तीन संस्करण खेल्दा उनले दोस्रो पटक स्वर्ण जितेका हुन् । १२ औं र १४औं संस्करणमा स्वर्ण जितेका उनले १३ औं संस्करणमा भने रजत जितेका थिए ।

नयाँ स्टार जन्माउने र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने योजना अनुसार आयोजित राष्ट्रपति रनिङ शिल्डमा यस पटक कर्णाली प्रदेशले १० स्वर्ण, ५ रजत र १६ कांस्य जितेर तेस्रो स्थानमा रह्यो । आगामी मंसिरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको कर्णाली यसबाट निकै उत्साहित बनेको छ ।

कर्णालीको पदकमा अजयको महत्वपूर्ण योगदान रह्यो । अजयले १५०० मिटर दौडमा भने रजत जिते । १२ औं संस्करणमा पहिलो पटक सहभागी भएका उनले ३ हजार मिटर दूरी ९ मिनेट ४०.८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका थिए । त्यसबेला १५०० मिटरमा भने उनी तेस्रो भएका थिए ।

यस्तै १३औं संस्करणमा उनले ३ हजार मिटरमा समय सुधार गर्दै ९ मिनेट ३०.५ सेकेण्डमा पूरा गरेका थिए । तर यस पटक उनको नाममा रजत रह्यो । त्यसबेला स्वर्ण जितेका सुदूरपश्चिमका अमित साउजीले ९ मिनेट २८.१ सेकेण्डमा दौड पूरा गरेका थिए ।

१४औं संस्करणमा ३ हजार मिटरमा स्वर्ण जित्दा अजयले आफ्नै टाइमिङ मात्र सुधार गरेनन् १३ औं मा स्वर्ण जितेका अमितको टाइमिङभन्दा अझ राम्रो गरे ।

लगातार जित्दा प्रदर्शन र टाइमिङमा पनि सुधार आइरहेको अजयले बताए । । ‘टाइमिङ सुधार भइरहेको छ । हरेक पटक मेरो टाइमिङ राम्रो हुँदै आएको छ’, उनले भने ।

सुर्खेतको जनज्योति माविमा कक्षा ११ मा अध्ययनरत अजयले १५०० मिटरमा रजत जित्दा स्वर्ण जितेका बादल कार्कीभन्दा थोरैले मात्र पछि परे ।

स्वर्ण जितेका बादलले ४ मिनेट १९.१ सेकेण्डमा दूरी पूरा गरेक भने अजयले ४ मिनेट १९.६ सेकेण्डमा पूरा गरे ।

यद्यपि उनले भविष्यमा राम्रो प्रदर्शन गर्ने सम्भावना भने देखाएका छन् । अब आफ्नै प्रदेशमा आगामी मंसिरमा आयोजना हुने दशौँ बृहत राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जित्ने उनको लक्ष्य छ ।

स्कुल पढ्दादेखि नै दौडमा अगाडि

सुर्खेत पञ्चपुरी नगरपालिकाका अजय स्कुलमा पढ्दादेखि नै दौडिन्थे । उनी विभिन्न प्रतियोगिताहरुमा भाग लिन्थे र अधिकांशमा जित्थे ।

‘स्कुलमा दौड प्रतियोगिता हुँदा दौडन्थेँ । सधैँ फर्स्ट हुन्थेँ । सबै इभेन्टहरुमा खेल्थेँ । खासै कसैले टक्कर दिन सक्थेन’, अजयले भने ।

त्यसपछि राष्ट्रिय स्तरका धावकहरुलाई देखेपछि उनमा अझ दौडने इच्छा बढ्यो । ‘म सिनियर दाईहरुलाई नै देखेर दौडमा लागेको हुँ । गोपीचन्द्र पार्की दाईहरुलाई देख्दा मलाई पनि त्यसैगरी दौडिन मन लाग्यो’, अजयले सुनाए । उनले दौडन थालेको ५-६ वर्ष भइसकेको छ ।

अजयले यसअघि २०७९ सालमा गण्डकी प्रदेशमा भएको भएको बृहत नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाइसकेका छन् । त्यहाँ म्याराथन दौडिएका उनले पदक जित्न सकेनन्, पाचौं स्थानमा रहेर दौड पूरा गरे ।

यस्तै अजय लुम्बिनी म्याराथनमा पाँचौ र नेपालगन्ज म्याराथनमा आठौं भएका थिए ।

अजयले केही दिनअघि भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा रजत र ५ हजार मिटर दौडमा कांस्य पदक जितेका थिए ।

एसियन गेम्स खेल्ने लक्ष्य

अजयले केही दिनपछि (अप्रिल २४ देखि) युएईको दुबईमा हुने यू-२० एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा तीन हजार मिटर दौडमा सहभागिता जनाउँदैछन् । ‘अबको लक्ष्य दुबईमा हुने यू-२० एसियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने हो’, उनले भने ।

अजयले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक जिताउने लक्ष्य राखेका छन् ।

उनले एथ्लेटिक्स खेलमै निरन्तरता दिने र यसैमा केही गर्ने लक्ष्य रहेको सुनाए । ‘मेरो लक्ष्य दौडमै केही गर्ने छ । मैले यसैलाई नै भविष्य सोचेर लागेको छु । सकेसम्म धेरै खेल्ने र नेपालको लागि मेडल जित्ने हो’, उनले भने ।

यस्तै उनले आफ्नो सबैभन्दा ठूलो लक्ष्य एसियन गेम्स खेल्ने रहेको बताए । ‘एसियन गेम्स खेल्ने लक्ष्य छ । नेपालको लागि अन्तर्राष्ट्रिय खेलेर राम्रो गर्ने ।’

पुरा समाचार पढ्नुहोस्