छुवाछूतविरुद्ध युगान्तकारी सन्देश बाँडेका महाकवि देवकोटा

१ हप्ता पहिले १२

नेपाली साहित्यको कविता, काव्य, निबन्ध, कथाजस्ता फाँटमा आफ्नो विलक्षण प्रतिभा देखाएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वले सिंगो नेपाली साहित्यलाई प्रभावित र प्रेरित गरेको छ | देवकोटाका प्रत्येक सिर्जनाले समाजलाई गोरेटो प्रदान गरेको छ, मार्गदर्शन गरेको छ | मान्छेहरुको पीडा, वेदना र आँसुमा उनको व्यक्तित्व सदैव प्रकट हुने गरेको छ |

कविता सिर्जना केवल कल्पनाको उडान मात्र होइन, मायाप्रीतिको गफ मात्र होइन, सुन्दर फूल मात्र होइन, खुला आकाश मात्र पनि होइन, जीवनको दुखाइ पनि हो- कविता | मान्छे-मान्छेको बीचबाट प्रतिध्वनित अन्तरव्यथाको आँसु हो- कविता । सामाजिक घात-प्रतिघातको दस्तावेज पनि हो- कविता । उत्पीडनविरुद्धको एउटा सशक्त आवाज बोल्नुपर्छ कवितामा । मान्छेमा चेतनाको लहर फैलाउँदै छुवाछूत, जातीय भेदको तीखो प्रहारबाट घाइते मान्छेको स्वाभिमान र सम्मानलाई जीवन्त तुल्याउन कविता अग्रगामी हुनुपर्छ | समग्रमा कवितामा जीवन हुनुपर्छ, जीवनलाई सार्थक बनाउने एउटा सन्देश बन्नुपर्छ |

कविताभित्रका यिनै चेतना र चिन्तनका सुन्दर भावरुपलाई संयोजन गरी समाजलाई अग्रगति प्रदान गर्ने नेपाली साहित्याकाशका महान् विभूति महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्यसिर्जना प्रबल रुपमा अभिप्रेरित रहेको पाइन्छ । त्यसबेलाको वर्ण व्यवस्थाको कठोर संस्कार र परम्पराभित्र हुर्केर पनि मानव-मानवबीचको अमिल्दो र अमानवीय व्यवहारप्रति आफ्नो असहमतिलाई सार्वजनिक रुपमा अभिव्यक्त गर्दै उनले समाजलाई छूत-अछूतको विभेद त्याग्न जुन युगान्तकारी सन्देश बाँडे, त्यसले समाजभित्र नौलो चेतनाको वीजारोपण गर्न ठूलो सहयोग पुर्‍यायो ।

आजभन्दा ८१ वर्षअघि प्रकाशनमा आएको खण्डकाव्य ‘मुनामदन’ले नेपाली समाजको छूत र भेदवादी मानसिकतालाई समतावादी चिन्तनतर्फ डोर्‍याउन आज पनि अहम् भूमिका खेलेको छ ।

‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने महाकवि देवकोटाको तो शाश्वत कवितांश जनजीवनको गीत बन्न पुगेको छ । सामाजिक सुधारको एउटा दरिलो सोपान बन्न पुगेको छ | छुवाछूतको उत्पीडनबाट पीडित नेपाली समाजको विरुप अनुहार देखिसकेका देवकोटाले मान्छेको सौन्दर्यलाई कहिल्यै पनि अनुहारमा खोजेनन् । मन नै सौन्दर्य हो, मन कुरुप पनि हो । मन ईश्वर हो, दानव पनि हो । मनको संवेदनशीलता नै यथार्थमा मान्छेको चेतना हो, जीवन्तता हो । जातीय संस्कारले बेरिएको हाम्रो समाज मनले अर्थात् दिलले अझै उठ्न सकेको छैन | ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्रमा विभाजित मान्छेका अमानुषिक मनहरु आज बिथोलिएका छन्, अत्तालिएका छन्, आफ्नो कुरुपपनलाई सम्झिएर |

मान्छे-मान्छेबीचको ठूलो-सानो, उच-नीच, छूत-अछूतको विभेदलाई बिसाएर एकअर्कालाई माया गर्न पाए कस्तो हुन्थ्यो ? एकअर्काको दु:खमा सुस्केरा हाल्न पाए कस्तो हुन्थ्यो ? महाकवि देवकोटाले मान्छेभित्रको मान्छेलाई जगाउन मन, भावना, चेतनाको सुन्दर आग्रह पोखेर दिलसम्म पुर्‍याइदिने एउटा महानतम् योगदान आफैंमा स्तुत्य छ | ‘मुनामदन’भित्र सिंगारिएका त्यो छोटो दर्शनले जीवन आल्हादित भएको छ, पुलकित भएको छ |

जातीय छुवाछूतविरुद्ध धेरै आवाज उठ्ने गरेका छन् | बेसुरा यी आवाजहरुले मनमस्तिष्कहरुलाई अझै स्पर्श गर्न सकिरहेको छैन | छुवाछूतविरुद्ध नियम, कानुन, आयोग बनिसकेका छन् | धेरै भाषणहरु पनि भइसकेका छन् तर समानताको कुनै आग्रह मनसम्म पुग्न सकेको छैन, मानवताको कुनै सन्देश गाउँसम्म पुग्न सकेको छैन |

मानवीय संवेदनाका अपरिमित उचाइमा बसेर महाकवि देवकोटाले समाजमा विद्यमान छुवाछूतजस्तो असभ्य परम्पराविरुद्ध गरेको शंखनाद आज प्रत्येक मनमस्तिष्क, प्रत्येक गाउँघरमा प्रतिध्वनित भइरहेको छ | साँच्चै भन्ने हो भने महाकविको सूक्ष्म अभिव्यक्तिले जातीय छुवाछूतको प्रताडना भोगिरहेका मान्छेहरुलाई शीतलताको अनुभूति गराइरहेको छ | छुवाछूत मुक्ति आन्दोलनको क्रममा महाकवि देवकोटाको भूमिका सिंगो सरकारको भन्दा प्रभावशाली देखिएको छ, वजनदार देखिएको छ |

नेपाली समाजलाई जातीय छुवाछूतको पीडाबाट उन्मुक्ति दिलाउन महाकवि देवकोटा एउटा आन्दोलन भएर उभिएका छन् | उनको एउटै काव्यात्मक अभिव्यक्ति जातीय छुवाछूतविरुद्धको सशक्त आवाज भएको छ | छुवाछूतप्रतिको सामाजिक हेराइमा क्रान्तिकारी परिवर्तन ल्याउन ‘मुनामदन’भित्रको एउटा सानो कवितांशले जुन अतुलनीय भूमिका निर्वाह गरेको छ, त्यो नेपालको दलित आन्दोलनकै महत्त्वपूर्ण, सकारात्मक र प्रभावपूर्ण परिच्छेद भएको छ |

जीवनको आग्रह भात-पानीमात्र होइन | जीवन त एउटा अनुभूति हो आत्मसम्मान र आत्मगौरवको | केवल जिउनुमा नै जीवनको कुनै अर्थ रहँदैन | गतिहीनता जीवनको अन्त्य हो | जीवन गतिमान हुनुपर्छ | परिस्थितिको अनुकूल जीवनको लक्ष्य होइन, जीवनको अनुकूल परिस्थितिलाई ढाल्ने जीवनको लक्ष्य हुनुपर्छ | आफ्नो मानवोचित हक, अधिकारको खोजी आफैं गर्नुपर्छ | यसका लागि प्रतिबद्ध भएर पीडित पक्ष आन्दोलित नभएसम्म हक अधिकारका कुरा एकादेशको कथाजस्तै हुनसक्छ | महाकवि देवकोटाले यिनै परिवेशका पात्ररुपलाई जगाउने र हिंडाउने आफ्नो दायित्वलाई इमानदारीका साथ निर्वाह गरेको पाइन्छ ।

परम्परावादी हाम्रो सामाजिक मान्यताले मानिस-मानिसबीच पैदा गराएको विभेदले अमानवीय चिन्तनलाई पोषण गरिरहेकै छ | धर्म र परम्पराको नाममा मान्छेको अधिकार र सम्मानलाई कुण्ठित गर्ने यस्ता मानसिकताविरुद्ध महाकवि देवकोटाले आफ्ना विद्रोही स्वरहरु २००५ सालतिर नै पोखेर सामाजिक समानताको शंखनाद गरेका थिए | लामो झ्याउरे कविता ‘पहाडी पुकार’ मा महाकवि देवकोटा आफ्नो क्रान्तिकारी अवधारणा यसरी व्यक्त गर्छन्- ‘मानिस हुँ भने मानिस झैं जिऊँ मानिसको हक लिऊँ |’

समाजभित्रका विकृति, विसंगतिका विरुद्ध विचारशील आन्दोलन साहित्यकारको दायित्व र धर्म पनि हो | राष्ट्र कहाँ दुखेको छ ? समाज कहाँ घाइते भएको छ ? मान्छे कहाँ लडेको छ ? त्यसको स्पष्ट खोजी र पहिचान गरी विवेकशील विचारको प्रवाहबाट राष्ट्रिय जीवनका तमाम कमजोर पक्षलाई सच्याउन सकिन्छ | महाकवि लक्ष्मीप्रसाद देवकोटाले राष्ट्र, समाज र पीडित जनताप्रतिको आफ्नो दायित्वलाई इमानदारीका साथ परिपालन गरेका छन् | देवकोटाले जातीय छुवाछूतविरुद्ध थोरै लेखे तर ती उनका थोरै शब्दले सहस्र आवाजलाई समेटेको छ, सहस्र विचारलाई प्रभावित पारेको छ | नेपालको जातीय विभेद र छुवाछूतविरुद्धको आन्दोलनमा महाकवि देवकोटाको भूमिका अग्रस्थानमा छ |

(लामो समय पत्रकारिता समेत गरेका विश्वकर्मा हाल अमेरिकामा बसोबास गर्छन् ।)

पुरा समाचार पढ्नुहोस्