बिर्तामोडबाट २०८० साललाई बिदाई गर्दै नेपथ्य

३ हप्ता पहिले ११

काठमाडौं । २०८१ सालको पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’ पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्र यो सहरमा चैत ३० गते शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाका गुञ्जिनेछन् ।

त्यहाँ आयोजना हुन लागेको खेलकुद प्रतियोगिता ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको हो ।

‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्याण्ड फेरि जुर्मुराएको बिन्दु छेवैको दमक बन्न पुगेको थियो भने केही दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौं ।’

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा प्रस्तुत भएको थियो ।

‘नेपथ्यको प्रस्तुतिलाई स्वदेशका साना सहर-बजारदेखि लिएर ठूला सहरसम्म एकरुपता प्रदान गर्न हामी सदैव प्रयासरत रहँदै आएका छौं,’ व्यवस्थापक नेपालयका अर्पण शर्मा भन्छन्, ‘कलाकारबाहेक प्रविधि र प्राविधिक समेत गरेर ठूलो टिमका साथ उपस्थित हुँदा यो एक रुपतालाई बिर्तामोडका दर्शकले पनि महसुस गर्न सक्नेछन् ।’

बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो । टिकटकका लागि बिर्तामोडलगायत पूर्वका सहरहरुमा काउन्टरका व्यवस्था गरिएका छन् भने इन्टरनेटबाटै बुकिङ सुरक्षित गर्न अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ । नेपथ्य डटकमबाट दर्शकले टिकट लिन सक्ने भएका छन् ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

पुरा समाचार पढ्नुहोस्