बेइजिङ फिल्म फेस्टिभल सुरु, ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुँदै (तस्वीर)

१ हप्ता पहिले १०

काठमाडौं । एसियाको प्रतिष्ठित बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु भएको छ । १४ औं फेस्टिभलको संस्करण चीनको राजधानी बेइजिङको यांकी लेक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको हो ।

उद्घाटन समारोह भव्य देखिएको थियो, जहाँ निर्देशक पिटर चान र प्रतिष्ठित फिल्म निर्माता झांग यिमाउसहित २०० स्टार रेडकार्पेटमा चम्किएको ग्लोबल टाइम्सले जनाएको छ ।

९० वर्षीय दिग्गज अभिनेता यु बेन्चाङ र चर्चित टिभी ड्रामा ‘ब्लोजम्स सांघाई’का मुख्य पात्र हु गे पनि उद्घाटन समारोहमा सहभागी थिए । यसपटकको संस्करणमा ४ हजार २७३ फिल्मले आवेदन दिएको र यो संख्या अहिलेसम्मकै उच्च रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

कुल फिल्ममध्ये १ हजार ५०९ कथानक फिल्म रहेको र ११८ देशबाट आवेदन आएको उल्लेख छ । १५ फिल्मले फेस्टिभलको शीर्ष पुरस्कार टाइटन अवार्डमा प्रतिस्पर्धा जनाएका छन् । १२ विदेशी, तीन घरेलु फिल्म फेस्टिभलमा छनोट छन् ।

नेपालबाट ‘गाउँ आएको बाटो’ शुक्रबार स्क्रिनिङ हुँदै

टोरन्टो, बुसान र मुम्बईसहितका चर्चित फेस्टिभलमा प्रिमियर र स्क्रिनिङ भइसकेको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ शुक्रबार बेइजिङ अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ हुँदैछ ।

फेस्टिभलको बेइजिङ पानोरमा विधामा यो फिल्म देखाइन लागिएको हो । पहिलोपटक कुनै नेपाली फिल्म यो फेस्टिभलमा स्क्रिनिङ हुन लागेको हो । जसले गर्दा चिनियाँ फेस्टिभलमा नेपाली फिल्मले इतिहास रच्नेछ ।

फेस्टिभलमा सहभागी हुन निर्देशक सुब्बा बिहीबार बेइजिङ पुगिसकेका छन् । नेपालमा जेठ १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

पुरा समाचार पढ्नुहोस्