भारतमा लोकसभा चुनाव आजबाट, ७ मन्त्रीसहित चर्चामा छन् यी अनुहार

१ हप्ता पहिले ११

७ वैशाख, काठमाडौं । भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित  प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात  सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक  पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् ।

पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान छ । यस्तै, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि आजै मतदान हुन्छ ।

पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु-कश्मीर, लक्षद्वीप, पुडुचेरी छन् । कुल २१ राज्यबाट पहिलो चरणको चुनावमा १०२ लोकसभा सदस्य चयन हुनेछन् ।

पहिलो चरणमा उत्तर प्रदेशको आठ सिट, पश्चिम बंगलाको तीन सिट, महाराष्ट्रको पाँच सिटमा चुनाव छ । यस्तै, छत्तीसगढको एक, राजस्थानको १२, मणिपुरको २ र तमिलनाडुको ३९ सिटमा चुनाव छ । यता उत्तराखण्डको पाँच सिटमा, अरुणाचलको २  सिट र मेघालयको २  सिटमा पनि चुनाव छ । पुडुचेरी  र सिक्किममा पनि पहिलो चरणमा एक/एक सिटका लागि मतदान छ ।

पहिलो चरणको चुनावमा मोदीका मन्त्रिपरिषद्का आठ सदस्यको भविष्य निर्धारण हुनेछ ।

पहिलो चरणको चुनावमा यी प्रमुख नेता चुनावी मैदानमा छन् ।

नितिन गडकरी

संघीय सडक तथा पारवहन मन्त्री नितिन गडकरी महाराष्ट्रको नागपुरबाट चुनावी मैदानमा छन् । गडकरी यस चुनाव क्षेत्रबाट ह्याट्रिकको कोसिसमा छन् । उनले सन् २०१४ मा पहिलोपटक यहाँबाट चुनाव जितेका थिए । सन् २०१४ मा त्यस क्षेत्रबाट सातपटक सांसद भएका कंग्रेसका नेता विला मुत्तेमवारलाई हराउँदै उनी चयन भएका थिए । सन् २०१९ मा उनले कंग्रेसका नाना पटोलेलाई पराजित गरेका थिए । यसपटक कंग्रेसले उनकाविरुद्ध विकास ठाकरेलाई मैदानमा उतारेको छ ।

किरण रिजिजू

केन्द्रीय उद्योग मन्त्री किरण रिजिजू अरुणाञ्चल पश्चिमबाट चुनावी मैदानमा छन् । यस क्षेत्रबाट उनले सन् २००४ मा पहिलोपटक चुनाव जितेका थिए । सन् २००९ को चुनावमा उनले हार व्यहोर्नुपर्‍यो भने सन् २०१४ मा जित निकाले । यस्तै सन् २०१९ मा पनि उनी विजयी भएका थिए । यसपटक उनको प्रतिस्पर्धा अरुणाञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री तथा कंग्रेसका प्रदेशअध्यक्ष नबाम तुकीसँग हुनेछ ।

सर्बानन्द सोनेवाल

सर्बानन्द सोनेवाल केन्द्रीय जलमार्ग, बन्दरगाह मन्त्री छन् । उनी असमको डिब्रुगढबाट लोकसभा उम्मेदवार छन् । भाजपाले केन्द्रीय पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेलीको टिकट खोसेर सोनेवाललाई उम्मेदवार बनाएको हो । सोनेवाल हाल राज्यसभा सदस्य छन् । उनी असमका पूर्व मुख्यमन्त्री समेत हुन् । सन् २०१४ मा उनले लखीमपुरबाट चुनाव जितेका थिए । सोनेवाल सन् २०१४ मा समेत मन्त्री भएका थिए ।

 संजीव बालियान

मोदीको मन्त्रिपरिषदमा बालियान मत्स्य, पशु चिकित्सा राज्य मन्त्री छन् । उनी मुजफ्फरनगरबाट उठेका छन् । सन् २०१४ मा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । सन् २०१९ मा पनि उनले राष्ट्रिय लोकदलका चौधरी अजीत सिंहलाई पराजित गरेर सांसद भएका थिए ।  यसपटक उनको भिडन्त इन्डिया गठबन्धनका समाजवादी पार्टीका उम्मेदवार हरेन्द्र मलिसँग हुनेछ ।

जितेन्द्र सिंह

प्रधानमन्त्री कार्यालयमा राज्य मन्त्री छन् जितेन्द्र सिंह ।  उनी जम्मु कश्मिरबाट चुनावी मैदानमा छन् । उनी पनि ह्याट्रिकको दौडमा छन् । यसपटक उनको प्रतिस्पर्धा कंग्रेसका चौधरी लाल सिंहसँग हुँदैछ ।

भुपेन्द्र यादव

केन्द्रीय पर्यावरण तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव राजस्थानबाट सांसद बन्ने दौडमा छन् । उनले कंग्रेसका ललित यादवसँग प्रतिस्पर्धा गर्नेछन् । लोकसभाका लागि यादवको यो पहिलो प्रतिस्पर्धा हो । यसअघि उनी सन् २०१२ मा  राज्यसभा सदस्य थिए ।

अर्जुन राम मेघवाल

केन्द्रीय कानुन मन्त्री अर्जुन राम मेघवाल राजस्थानको बिकानेरबाट लोकसभा सदस्यको उम्मेदवार छन् । उनका बलियो प्रतिस्पर्धी कंग्रेसका गोविन्द राम मेघवाल हुनेछन् । अर्जुनले सन् २००९ मा पहिलोपटक त्यहाँबाट चुनाव जितेका थिए । त्यसपछिका २०१४ र २०१९ को लोकसभामा पनि उनी विजय भएका उम्मेदवार हुन् ।

चुनावी चर्चामा रहेका यी उम्मेदवार

विप्लव कुमार देव

विप्लव कुमार त्रिपुराका पूर्व मुख्यमन्त्री हुन् । उनी पश्चिम त्रिपुराबाट उठेका छन् । उनको प्रतिस्पर्धा कंग्रेसका प्रदेशअध्यक्ष आशिष कुमार साहसँग हुनेछ । त्यस क्षेत्रमा सन् १९९६ देखि सन् २०१४ सम्म मार्क्सवादी कम्युनिस्ट पार्टीको दबदबा थियो । भाजपाले पहिलोपटक सन् २०१९ मा त्यहाँ चुनाव जितेको थियो । त्यसबेला भाजपाबाट प्रतिमा भौमिकले चुनाव जितेकी थिइन् ।

ए राजा

तमिलनाडुकी नीलगिरी लोकसभा सिटमा  ए राजा उठेका छन् । कंग्रेसका उनले केन्द्रीय मत्स्य पशु चिकित्सा तथा डेरी मन्त्री एल मुरुगनसँग प्रतिस्पर्धा गर्नेछन् । ए राजाले सन् २००९ मा त्यहाँबाट जित हात पारेका थिए । सन् २०१९ मा पनि उनी पाँच लाख भन्दा बढी मतले राज्यसभामा विजयी भएका उम्मेदवार हुन् । उनी पहिलोपटक लोकसभामा लड्दैछन् ।

कार्ति चदंबरम

तमिलनाडुको शिवगंगाबाट कार्ति चिदंबरम चुनावी मैदानमा छन् । उनी कंग्रेसका पुराना नेता पी चिदंबरमका छोरा हुन् । पी चिदंबरम त्यस क्षेत्रबाट सात पटक सांसद भइसकेका नेता हुन् । सन् २०१ ४ मा कार्ति त्यस क्षेत्रमा पराजित भएका थिए भने सन् २०१९ मा उनले चुनाव जितेका थिए । यसपटक उनले भाजपाका देवनाथन यादवसँग प्रतिस्पर्धा गर्नेछन् ।

अन्नामलाई

अन्नामलाई तमिलनाडु भाजपाका अध्यक्ष हुन् । उनी कोयंबटुरबाट लोकसभाका लागि भिड्दैछन् । उनले डीएमकेका नेता गणपति पीसँग प्रतिस्पर्धा गर्नेछन् । अन्नामलाई पूर्व प्रहरी अधिकारी समेत हुन् ।

तमिलिसाइ सौन्दर्यराजन

पुडुचेरीका उपराज्याल तथा तेलंगानाको राज्यपाल पदबाट राजीनामा दिएका सौन्दर्यराजन चेन्नई दक्षिणबाट लोकसभा सदस्य बन्ने दौडमा छन् । भाजपाका उम्मेदवार उनको प्रतिस्पर्धा डिएमकेका थमिजाची थंगापांडिएनसँग हुनेछ । यस क्षेत्रमा २० लाख बढी मतदाता रहेका छन् । यो तमिलनाडुको दोस्रो ठूलो निर्वाचन क्षेत्र हो ।

गौरव गोगाई

कंग्रेसले गौरव गोगाईलाई असमको जोरहाटबाट उम्मेदवार बनाएको छ । गौरव पूर्व मुख्यमन्त्री तरुढ गोगाईका छोरा हुन् । सन् २०१९ मा त्यहाँबाट भाजापका तपन कुमार गोगाईले चुनाव जितेका थिए । गोगाईले त्यहाँ भाजपाका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

जतिन प्रसाद

उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारमा मन्त्री रहेका जतिन प्रसाद पीलीभितबाट उम्मेदवार छन् । भाजपाले त्यहाँका निवर्तमान सांसद वरुण गान्धीलाई यसपटक टिकक दिएन । उनले समाजवादी पार्टीका भवत शरणसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने छ । जतिन प्रसाद कंग्रेस छोडेर भाजपा गएका पात्र हुन् । उत्तर प्रदेशमा उनी भाजपाका ब्राम्हण अनुहार हुन् ।

नकुल नाथ

मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमल नाथका छोरा नकुल नाथ छिंदवाडाबाट चुनावी मैदानमा छन् । कमल नाथ १९८० पछि त्यस क्षेत्रबाट ९ पटकसम्म सांसद भएका व्यक्ति हुन् । सन् २०१९ मा पनि कंग्रेसका नकुल नथान नै त्यहाँ उम्मेदवार थिए । उनले भाजपाका उम्मेदवारलाई ३७ हजार बढी मतले पराजित गरेका थिए । मध्यप्रदेशको लोकसभाको २९ सिटमध्ये कंग्रेसले जितेको एक सिट त्यही थियो । नकुल नाथ यसपटक भाजपाका जिल्ला अध्यक्ष विवेक बन्टीसँग भिड्नेछन्।

इमरान मसुद

कंग्रेसका नेता इमरान मसुद उत्तर प्रदेशका सहारनपुर सिटमा उम्मेदवार छन् । उत्तर प्रदेशको पश्चिमी यस क्षेत्रमा कडा प्रतिस्पर्धा छ । यस क्षेत्रमा कंग्रेस, भाजपा र बहुजन समाज पार्टीबीच त्रिपक्षीय भिडन्त छ ।  मसुदका काका पाँचपटक लोकसभा सांसद बनेकाले उनलाई केही सहज हुने अपेक्षा कंग्रेसको छ ।

 

पुरा समाचार पढ्नुहोस्