सी डिभिजन लिगमा झम्सिखेल र मनोहराको पहिलो जित

२ हप्ता पहिले १५

२ वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा झम्सिखेल युथ क्लब र मनोहरा युनाइटेड युथ क्लबले पहिलो जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा झम्सिखेलले सिरहाको गोलबजार युथ क्लबमाथि ४–० को प्रभावशाली जित निकाल्यो ।

पहिलो हाफमै ३ गोल गरेको झम्सिखेलका लागि ओम धामीले ३२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । कप्तान सन्जय रम्तेलले ३६औं मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता दोब्बर पारे । अजय वाइबाले ४३औं मिनेटमा गोल गर्दै झम्सिखेलको अग्रता ३–० बनाए । इन्जुरी टाइमको दोस्रो मिनेटमा बिक्की महर्जनले गोल गरेपछि झम्खेलले ४–० ले खेल जित्यो ।

जितपछि झम्सिखेलले २ खेलबाट ३ अंक जोडेको छ । झम्सिखेल पहिलो खेलमा साँगासँग पराजित भएको थियो । दुई खेलमा जितविहीन गोलबजारको १ अंक मात्र छ । गोलबजारले पहिलो खेलमा स्वयम्भूसँग २–२ को बराबरी खेलेको थियो ।

यस्तै आइतबारको पहिलो खेलमा मनोहराले स्पोर्टस् एकेडेमी साँगामाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । मनोहराका लागि उक्त शाहले पाँचौ र बिसान्त मगरले १५औं मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाएका थिए ।

साँगाका सामुयल सुनारले ३९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर आविष्कार खड्काले ७१औं मिनेटमा गोल गरेपछि मनोहराले ३–१ को अग्रता बनायो ।

साँगाका विकास परियारले खेलको इन्जुरी टाइममा गोल गरे पनि हार टार्न पर्याप्त भएन ।

जितपछि मनोहराले पहिलो ३ अंक जोडेको छ । मनोहरा पहिलो खेलमा सोसियल वेलफेयरसँग ५–० ले पराजित भएको थियो । पहिलो खेलमा झम्सिखेललाई हराएको साँगा दोस्रो खेलमा पराजित हुँदा दुई खेलबाट ३ अंक छ ।

पुरा समाचार पढ्नुहोस्